श्रावण ८, २०८१
काठमाडौँ — नेपाली महिला क्रिकेट टोली एसिया कपमा क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ । श्रीलंकामा भइरहेको प्रतियोगितामा साविक विजेता भारतले मंगलबार नेपाललाई ८२ रनले पराजित गरेको छ। १ सय ७९ रनको लक्ष्य लिएर आएको नेपालले ९ विकेट गुमाई ९६ रनमै समेटियो ।
टस जितेर ब्याटिङ रोजेको भारतले रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो । नेपाललाई सेमिफाइनलमा पुग्न भारतले दिएको लक्ष्य १० ओभर भित्र पूरा गर्नुपर्ने थियो तर नेपाल पुग्न सकेन ।
ओपनर सीता रानामगरले नेपालका लागि सर्वाधिक १८ रन बनाइन् । उनले २२ बल खेली ३ चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट भएकी थिइन् । तेस्रो नम्बरमा पठाइएकी कविता कुँवरले ११ बल खेली १ चौका प्रहार गरि ६ रनमात्र बनाउन सकिन् ।
कप्तान इन्दु बर्माले १८ बल खेली २ चौका प्रहार गरि १४ रन बनाइन् । उनले आफूले सामना गरेको पहिलो दुई बलमै चौका प्रहार गरेकी थिइन् । रुविना क्षेत्रीले १६ बल खेली २ चौका र १ छक्काका साथ १५ रन जोडिन् । पुजा महतो २, कविता जोशी शुन्य, डली भट्ट ५, काजल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बल खेली २ चौका प्रहार गरी १५ र सबनम राई १ रन बनाई अविजित रहिन् ।
भारतबाट सफाली वर्माले ८१ रन बनाईन् । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । उनले दयालान हेमालथासँग पहिलो विकेटमा १४ ओभरमा १ सय २२ रन जोडेर भारतलाई सानदार सुरुआत दिलाएकी थिइन् ।
सफालीले ४८ बल खेली १२ चौका र १ छक्का प्रहार गरिन । सीता रानामगरले उनलाई काजल श्रेष्ठबाट स्टम्म आउट गराईन् । हेमथलथाले ४२ बलमा ४७ रन बनाइन् । उनले ५ चौका र १ छक्का प्रहार गरिन् । सीताले दुवै ओपनरलाई आउट गरेकी थिइन् । कविता जोशीले सजिवन सजनालाई १० रनमा एलबीडब्लु आउट गरिन् ।
सीताले २ विकेट लिनेक्रममा ४ ओभरमा २५ रन खर्चिन । कविताले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिइन् ।
सबनम राईले ४ ओभरमा कुनै विकेट नलिई ४१ रन खर्चन पुगिन् । नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सवैभन्दा खर्चिलो बलिङ हो । यसअघि रुविना क्षेत्रीले ३० रन खर्चिनु नेपाली खेलाडीको महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सवैभन्दा महँगो बलिङ थियो । सबनमको अन्तिम ओभरमा भारतका जेमिमाह रोड्रिगुइज र रिचा घोषले १६ रन प्रहार गरेका थिए । त्यसमा जेमिमाहले ३ चौका प्रहार गरेकी थिइन् ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा भारतले सबै ३ खेल जित्यो । पाकिस्तान ३ मध्येको दुई खेल जितेर समूहबाट दोस्रो टोलीको रुपमा सेमिफाइनलमा पुग्यो ।