मिथन ठाकुर
उदयपुर । सदा वर्ष झै यस वर्ष पनि गाईघाट कोरा च्यालेञ्ज साइक्लिङ आयोजना हुने भएको छ । गाईघाटलाई साइकल सिटिको रुपमा विकसित गर्ने अवधारणा संगै यस वर्ष धार्मीक तथा पुरातात्विक महत्व बोकेका स्थानिय मठमन्दिरको प्रचार प्रसार तथा प्रबद्र्धन गर्ने उद्देश्यले ‘गाईघाट कोरा साइकिलिङ च्यालेन्ज २०२४ हुने तय गरिएको छ । जिल्ला साइकिलिङ संघको आयोजनामा असोज १२ गते शनिबार छैँठो संस्करणको कोरा च्यालेन्ज गर्न लागिएको हो ।
सदरमुकाम गाईघाटमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष माधब बाँनियाले पुरातात्विक महत्व बोकेको त्रियुगा नगरपालिका वडा नं ८ स्थित खाटमन्दिर संरक्षण र प्रर्वद्धनमा यस वर्ष महत्वपूर्ण भूमिका निर्वाह गरिने बताए । सदरमुकाम गाईघाटबाट सुरु गरि मोतिगडा–जलजले–चुहाडे–भाण्टावारी–खाटमन्दिर–राजाबास–बोक्से–सिमल्टारहुँदै पुनः गाईघाटमै पुगेर टुंगिने गरी ३२ किलोमिटरको रुट मिलाइएको उनले बताए ।
करिब ३ घण्टाको यात्रा हुने कोरामा सर्वसाधरणसँगै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी एक सय जना अभियानमा जोडिने संघका पूर्वअध्यक्ष जितेन्द्र रोईला (जितु)ले बताए । मुख्य उद्देश्य मन्दिर संरक्षण नै हो, यसका अलवा स्वस्थकर जीवनशैली, पर्यटन प्रर्वद्धनको प्रचार प्रसार रहेको उनले बताए।
‘सामान्य काममा पनि इन्धनवाला सवारी साधन प्रयोग गर्दा बढ्दो प्रदूषण, आर्थिक बोझ छन्,उनले भने,‘वायु प्रदूषणले अस्तव्यस्त सहरलाई सहज बनाउन साइकिलको प्रयोगको प्रेरणा जगाउनु पनि कार्यक्रमको उद्देश्य हो । यसबाट पर्यटकीय सम्भावनाको खोजी, पुरातात्विक महत्वको संरक्षण, प्रचार प्रसारसँगै प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
साइकिलिङको सम्भावना राम्रो बोकेको उदयपुरमा पछिल्लो समय पर्यटनको रुपमा विकास हुँदै गएको छ । यसले स्वस्थ्य जीवनशैलीलाई प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनलाई कम गर्ने,पर्यटन पर्वद्धनमा सहयोग पुग्ने, प्रदूषण नियन्त्रणमा सघाउ पुर्याउन भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
यो अन्तर्राष्ट्रियस्तर सम्म हुने गर्दछ । अन्तर्राष्ट्रिय स्तरमा यो च्यालेन्जलाई हिमालको सबैभन्दा ठूलो साइकल कार्यक्रम भनेर परिचित छ ।